स्वास्थ्य मन्त्रालयले भन्याे – कोरोनाका लागि २० प्रतिशत बेड नछुट्याउने अस्पतालको पीसीआर अनुमति खारेज हुन्छ
काठमाडौँ । कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । उनले मेडिकल कलेजले एक तिहाइ बेड कोरोनाको उपचारका लागि छुट्याए उनीहरुले पीसीआर परीक्षणका लागि अनुमति पाउने जानकारी गराए ।
केही समयअघि मन्त्रालयले कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो ।
प्रवक्ता गौतमले निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्दिनँ भन्न नपाउने बताए ।
२०७७ भदौ ३ गते बुधवार १९:१९ बजे प्रकाशित