"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढ्यो, चल्तीको भाउभन्दा १५ रुपैयाँ बढी तोकियो

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पानीको मूल्य निर्धारण गर्ने घोषणा गरेको छ ।

‘एक जारको ३५ रुपैयाँ तिर्दै आएकोमा अब प्रतिजार ५० रुपैयाँ तिनुपर्ने भएको छ ।

प्रायः कम्पनीले उत्पादन गरेको पानी उपभोक्तासम्म पुग्दा औसतमा ३५ देखि ४० रुपैयाँसम्म पर्छ । विदेशी कम्पनीहरूको हकमा करिब १ सय रुपैयाँसम्म पर्छ । तर सर्वसाधारणले स्वदेशी कम्पनीकै पानी प्रयोग गर्ने भएकाले एउटा जारको मूल्य औसतमा ४० रुपैयाँ पर्छ । तर व्यवसायीको मिलोमतोमा उपभोक्तालाई भार पर्ने गरी जारको पानीको मूल्य बढाइएको छ ।

नेपाल बोटलर्स वाटर एसोसिएसन स्रोतका अनुसार एक जारको लागत करिब २८ रुपैयाँ पर्छ । सर्वसाधारणलाई ३५ रुपैयाँमा बिक्री गर्ने गरिएको छ । तर पानीको मूल्यमा एकरूपता ल्याउने जनाउँदै वाणिज्य विभागका निर्देशक सागर मिश्रको संयोजकत्वमा गठित कार्यदलले उपभोक्तालार्ई बेवास्ता गरी व्यवसायीकै पक्षमा मूल्य निर्धारण गरेको छ ।

प्रशोधित पानीका जार तथा बोतलहरूको मूल्य निर्धारण’ कार्यदलमा खाद्य प्रविधि विभागका निरीक्षक अधिकृत ईश्वर सुवेदी, नेपाल बोटलर्स वाटर एसोसिएसनका महासचिव ध्रुवबहादुर गौतम, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र वाणिज्यका निरीक्षक अधिकृत ध्रुव खनाल छन् ।

गर्मी सिजनसँगै पानीको खपत बढ्छ । यही बेलामा उद्योगीहरूले खेलबाड गरिरहेका हुन्छन् । तर गुणस्तरको अनुगमनमा जोड दिनुभन्दा उपभोक्तालाई नै भार पर्ने गरी बजार भाउभन्दा बढी मूल्य तोक्नु खेदजनक भएको बिज्ञहरू बताउँछन् । विभागका अनुगमन शाखा निर्देशक एवं कार्यदल संयोजक सागर मिश्रले भने तत्कालीन वाणिज्य मन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले गरेको मूल्य समायोजनलाई पहिलो आधार मानिएको दाबी गरे । ४ वर्षअघि जारको पानीको मूल्य ६० रुपैयाँ र बोतलको १८ रुपैयाँ तोक्ने निर्णय गरेको थियो । तर त्यति बेला कार्यान्वयनमा आएन,’ मिश्रले भने, ‘एआरपी निर्धारण गर्दा पहिलो आधार त्यसैलाई मान्यौं, त्यसपछि कम्पनी मूल्य, बोतल, बिर्कोको मूल्यलगायतलाई आधार मानेर मूल्य समायोजन गरेका छौं ।’

कम्पनी मूल्य प्रतिजार २० रुपैयाँ, डिस्ट्रिब्युटरको मूल्य ३५ रुपैयाँ, खुद्रा मूल्य ४० रुपैयाँ र अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ राखिएको उनले जानकारी दिए । पानी कम्पनीको दूरी, भाडा र ग्राहकको घरदूरीका आधारमा पनि महँगो हुन सक्ने उनले बताए । ‘मैले एउटा जारलाई २५ रुपैयाँमा किनेको छु, । किनभने उद्योग र मेरो घरको दूरी एक किलोमिटर मात्रै छ,’ उनले भने, ‘उद्योगीलाई धन्यवाद दिन चाहन्छु । मूल्य घटाउन भनेपछि स्विकार्नुभयो ।’

२० रुपैयाँ पर्ने बोतलको पानीको मूल्य १६ रुपैयाँमा बिक्री गर्ने सहमति भएको एसोसिएसनका महासचिव गौतमले बताए । बजारलाई सन्तुलित बनाउन मूल्य तोक्न आवश्यक भएको उनको भनाइ छ । कार्यदलका सदस्य तथा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मूल्य निर्धारण हुँदा बिचौलिया निरुत्साहित हुने बताए । मूल्यले स्वस्थ प्रतिस्पर्धा हुने उनको भनाइ छ । ‘अध्ययन गर्दा लाखौं, करोडौं लगानी गरेर पानी उत्पादन गर्ने तर न्यूनतम ८ देखि २५ रुपैयाँमा जारको पानी बिक्रीवितरण भएको छ,’ उनले भने, ‘यो भनेको उद्योगबीचको अत्यन्त अस्वस्थ प्रतिस्पर्धा हो । स्वस्थ बजारका लागि मूल्य निर्धारण आवश्यक छ ।’

२०७७ साउन २७ गते मंगलवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु