"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोना सङ्क्रमणको जोखिम कायमै, पछिल्लो २४ घण्टामा ३११ जनामा सङ्क्रमण

मुलुकभर आज थप ३११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको जम्मा पाँच हजार ३२ पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको छ ।

यसैगरी कोरोनाका कारण थप एक जनाको निधन भएको छ । बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको यही साउन ९ गते आफ्नै घरमा निधन भएको हो । दम रोगका बिरामी उहाँ गत असार २४ गते भारतको बैंगलोरबाट घर फर्केका थिए । यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या जम्मा ४९ पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।

साथै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १२१ रहेको र हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १३ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३९ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १५ हजार ३३१ व्यक्ति रहेको उहाँले जानकारी दिए ।

सरकारले हाल काठमाडौँ उपत्यका प्रवेश गर्ने विभिन्न तीन नाकाबाट कोरोना सङ्क्रमण जाँचका लागि नमूना सङ्कलन गरिरहेको छ । यसैक्रममा आज साँझ ४ बजेसम्ममा फर्फिङ नाकाबाट ९५५, थानकोट नागढुङ्गाबाट दुई हजार ९१४ र साँगा ९४४ गरी जम्मा चार हजार ८१३ पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । उक्त नमूनाको रिपोर्ट आएपछि यथाशिघ्र जानकारी गराइने मन्त्रालयका प्रवक्ता गौतमले बताए । मुलुकमा बन्दाबन्दी खुलेपनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

२०७७ साउन १३ गते मंगलवार १९:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु