थप २५५ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १६ हजार ४२३ पुग्यो
काठमाडौं । नेपालमा थप २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा चार हजार ६९६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ४२३ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको नमूना परीक्षण भइसकेको छ । हाल क्वारेन्टिनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६३६ जना रहेका छन् । कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २५३ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ७५२ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ४७ दशमलव दुई प्रतिशत निको भएको उनले बताए ।
हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ५७ हजार ८८० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८५ हजार ९०१ छन् । आज मात्रै एक सय जनाले इन्ट्री गरेकामा रेड जोनमा कोही पनि नपरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या २९ लाख ५९ हजार १४० पुगेको छ भने भाइबर गु्रप प्रयोगकर्ता चार लाख १३० रहेका छन् । सार्क देशमध्ये कोरोना परीक्षण दर प्रति दश लाख जनसङ्ख्यामा नेपाल अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलङ्का र बङ्गलादेशभन्दा अगाडि रहेको पनि उनले बताए ।
२०७७ असार २४ गते बुधवार २०:१७ बजे प्रकाशित