एकैदिन ३७० कोरोना सङ्क्रमित डिस्चार्ज, निको हुनेको संख्या दुई हजार १४२ पुग्याे
काठमाडौं । कोभिड– १९ बाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै धेरै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट आज एकैदिन ३७० जना घर फर्किएका बताए । तीमध्ये ३३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन् ।
आइतबार मात्र १९४ जना डिस्चार्ज भएका थिए । आज डिस्चार्ज भएर घर फर्कनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन् । उहाँका अनुसार उक्त अस्पतालबाट निको भएर घर फर्कनेमा २६५ जना रहेका छन् । तीमध्ये १९ महिला र २४६ पुरुष रहेका छन् ।
कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुष, कालिकोट अस्पताल कालिकोटबाट दुई महिला र २६ पुरुष, सल्यान अस्पताल सल्यानबाट एक महिला र ३६ पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट दुई महिला र नौ पुरुष, धादिङ अस्पताल धादिङबाट चार महिला र १३ पुरुष रहेका छन् । अहिलेसम्म दुई हजार १४२ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये १६१ महिला र एक हजार ९६१ पुरुष छन् ।
२०७७ असार ८ गते सोमवार १९:२२ बजे प्रकाशित