कोरोनाबाट थप एक जनाको मृत्यु, ३१४ मा सङ्क्रमण
काठमाडौं । कोभिड–१९ सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। उनको मृत्यु भएसँगै अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या तीन हजार ५०६ र महिला २५६ रहेका छन् ।
यसैगरी आज २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएको सो अवसरमा जानकारी दिइयो । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् । क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५आँै दिनदेखि २०औँ दिनमा भएका छन् । यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । यसरी आज डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन् ।
२०७७ जेठ २६ गते सोमवार १९:३४ बजे प्रकाशित