झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिए, संक्रमितकाे संख्या३८५

विराटनगर । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालले पुष्टि गरेको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको प्रतिष्ठान स्रोतले जनाएको छ ।
यअसअघि सोमबार सुनसरीको गढी गाउँपालिकाका एक युवकमा संक्रमण पुष्टि भएको थियो । उनी केही दिनअघि भारतको नयाँ दिल्लीबाट आएका थिए ।
सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो ।
हालसम्म नेपालमा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३६ जना निको भएका छन् भने बाँकेमा एक र सिन्धुपाल्चोकमा एक गरी दुई जनाको मृत्यु भएको छ ।
२०७७ जेठ ६ गते मंगलवार १२:१९ बजे प्रकाशित