"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरुको भिडियो सम्मेलन, लकडाउनमा प्रविधिको उपयोग बढाइनुपर्ने

काठमाडौं । खानेपानी, सरसफाइ, स्वास्थ्य र स्वच्छताको क्षेत्रमा कार्यरत विज्ञहरुले कोभिड–१९को जोखिमबाट बच्न जारी लकडाउनमा प्रविधिको उपयोग गरिनुपर्नेमा जोड दिएका छन् ।

स्मार्ट वास सोलुसन्स प्रालिको आयोजनामा यस क्षेत्रका विज्ञहरुको भिडियो सम्मेलनका वक्ता तथा सहभागीले मानिसको बाँच्ने अधिकारसँग जोडिएको र संविधानले मौलिक हकमा समावेश गरेको स्वच्छ र शुद्ध खानेपानी सेवा पूर्ववत् रुपमा जारी राख्न प्रविधिको उपयोगमा सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिएको हो ।

यस क्षेत्रको नेतृत्व लिने व्यक्तित्वको अभाव रहेकाले पर्याप्त मात्रामा पानीको आपूर्ति हुन नसकेको उनीहरुको भनाई थियो । छलफलमा स्रोतव्यक्तिको रुपमा उपस्थित एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष तथा एशिया वाटर काउन्सिलका सल्लाहकार डा। बिन्दुनाथ लोहनीले सबैले आफूलाई चाहिएजति गुणस्तरीय पानी पाउने वातावरण सुनिश्चित भएपछि मात्र यस क्षेत्रको नेतृत्व सफल हुने बताए ।

पानीका कारण संसारमा द्वन्द्व हुने गरेकाले समस्या समाधान हुँदा विश्वमा शान्ति आउने र यसको समाधान गर्ने नेतृत्व शान्तिको हकदार हुने उनको भनाई थियो ।

कोरोना भाइरस सङ्क्रमणको नयाँ सङ्कटले सरकारलाई राहत, पुनरुत्थान कार्यक्रम ल्याउन प्रेरित गर्ने र यस्तो कार्यक्रमले हात धुने बानी, खानेबानी, स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा मार्ग निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याउन सघाउने डा।लोहनीले बताए ।

खानेपानीमा प्रविधि प्रवद्र्धनमा संलग्न मङ्गेशलाल श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको सङ्कटले प्रविधिको विकास, विस्तार र उपयोगको अवसर सृजना भएको बताए । बन्दाबन्दीपछि अनलाइनबाट घरमै बसेर काम गर्ने संस्कार बढेको बताउदै उनले जोखिम भएका र अत्यावश्यक क्षेत्रमा ड्रोन, रोबोटबाट काम लिने प्रवृत्ति बढेको उल्लेख गरे ।

स्वास्थ्य परीक्षण र समाचार सङ्कलनमा डिजिटल प्रविधिको उपयोग भएको छ । खाद्यान्न र अत्यावश्यक सेवा आपूर्तिमा नयाँ उपायको खोजी भएको छ । कोरोनाको सङ्कटले विज्ञान र प्रविधिको विकास, विस्तार र उपयोगलाई व्यापक बनाएको श्रेष्ठको भनाई थियो ।

खानेपानी विज्ञ डा।दिनेश मानन्धरले भाइरसबाट बच्न एकापसको दूरी कम गर्नुपर्ने भएकाले खानेपानी र सरसफाइ क्षेत्रमा सूचना, सञ्चार र प्रविधिको व्यापक प्रयोग बढाउनुपर्ने अवसर आएको बताए ।

खानेपानीको उत्पादन, प्रशोधन, वितरण र महसुल भुक्तानीमा स्मार्ट प्रविधि अपनाउन आवश्यक भएको पनि उहाँले उल्लेख गरे । उपयोग भैसकेको पानी, ढल एवं उद्योगबाट निःसृत पानीको समुचित प्रशोधन, शहरी र अस्पतालका फोहरमैलाको सुव्यवस्थापन जस्ता क्षेत्रमा नीति निर्माता र सबै तहका सरकारको ध्यानाकर्षण गराइनुपर्ने मानन्धरको विचार थियो ।

पूर्व सचिव इञ्जिनीयर किशोर थापाले सङ्कटले खानेपानीको उपलब्धता, आपूर्ति र गुणस्तरबारे सोच्न सबै तहका सरकारलाई बाध्य बनाएको बताए ।

“हात धुने सन्देश दिँदा पानी उपलब्ध गराउन सबै तहमा दवाव बढेको छ, सरकारी निकायले वितरण गर्ने पानीमा न्यूनतम् गुणस्तर कायम होला, निजी क्षेत्रले उत्पादन र वितरण गरिरहेको पानीको गुणस्तर कसले हेरेको छ रु इनार र ट्यूबवेलको पानीको गुणस्तर के छ रु, यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ”–उनले भने ।

धेरै जनाले प्रयोग गर्ने चर्पीका बारेमा पनि निर्देशिका अत्यावश्यक भैसकेको पूर्व सचिव थापाले बताउनुभयो । कम पानीबाट हातधुने प्रविधि विकास गर्न र पानीबाट सर्ने रोगबाट आम नागरिकलाई जोगाउन सचेतना आवशयक रहेको सहभागीको माग थियो ।

राष्ट्रिय नीति प्रतिष्ठानका अध्यक्ष डा। विष्णुराज उप्रेतीले संविधानले मौलिक हक अन्तरगत राखेका खानेपानी, स्वास्थ्य र शिक्षाका बारेमा बन्दाबन्दीका बेला विशेष ध्यान दिनुपर्ने बताए ।

भिडियो सम्मेलनमा प्रदेश सदस्यद्वय शिवचन्द्र चौधरी र रमेश पौडेल, सञ्चारकर्मीद्वय प्रकाश अधिकारी र दीपक आचार्य, खानेपानी क्षेत्रमा कार्यरत प्रकाश अमात्य, लक्ष्मी देवकोटा, उद्धवराज खतिवडा, फूर्वा मोक्तान लगायत सहभागी थिए ।

स्मार्ट वासका अध्यक्ष इञ्जिनीयर रामदीप साहको अग्रसरतामा भएको भिडियो सम्मेलनको सहजीकरण पूर्वमन्त्री इञ्जिनीयर गणेश साहले गरेका थिए। प्रविधि मार्फत् खानेपानी, स्वास्थ्य र स्वच्छताको अभियान चलाए दूरी कायम गर्नुपर्ने रोगको प्रकोप बढेका बेला सबैका लागि लाभदायी हुने उनीहरुको भनाई थियो ।

२०७७ वैशाख ५ गते शुक्रवार १२:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु