अनुगमन प्रभावकारी नहुँदा तौल र गुणस्तरमा उपभोक्ता ठगिँदै, विद्यालयमा थालियो सचेतना कार्यक्रम

इटहरी । उपभोक्ताहरुलाई जागरुक तथा प्रभावकारी बनाउने माध्यमका रूपमा विद्यार्थीहरुलाई लिएर स्वस्थ र स्वच्छ उपभोग्य वस्तुहरुको प्रयोगमा जोड दिँदै सुनसरीमा विद्यालय शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । घरेलु तथा साना उद्योग कार्यालय इटहरीले सचेतना कार्यक्रमअन्तर्गत अन्य प्रकारको कार्यक्रमभन्दा विद्यालय कार्यक्रम प्रभावकारी हुने ठहर गरी विद्यालयमा सचेतना कार्यक्रम शुरु गरेको हो ।
उपभोक्ताहरुको जीवन उपभोग्य वस्तुहरुका कारण राम्रो तथा नराम्रो हुने भएकोतर्फ लक्षित गर्दै उपभोक्ताहरुलाई स्वस्थ र स्वच्छ उपभोग्य वस्तुहरुको प्रयोगका विषयमा सहजरूपमा सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विद्यालय शिक्षा कार्यक्रम शुरु गरिएको कार्यालयमा प्रमुख विश्वेश्वर रेग्मीले जानकारी दिए ।
अन्य माध्यमका तुलनामा विद्यार्थीहरुलाई सहभागी गराएर गरिने सचेतनामूलक कार्यक्रम प्रभावकारी भएकाले अन्य विद्यालयका विद्यार्थीलाई समेत उपभोक्ता जागरण र स्वच्छ बजारका विषयमा शिक्षा कार्यक्रम सञ्चालन गरिने रेग्मीले जानकारी दिए ।
उपभोक्ताका हितका लागि भनेर विभिन्न किसिमका ऐनकानून बनाइए पनि प्रभावकारीरूपमा अनुगमन नभएका कारण उपभोक्ताहरु हालसम्म पनि ठगिँदै आएका छन् । उपभोक्ताहरु मूल्य तौल र गुणस्तरमा ठगिने क्रम जारी रहेको छ । यसैलाई दृष्टिगत गरी विद्यार्थीका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम प्रभावकारी हुने विद्यार्थीले समेत विश्वास लिएका छन्
विद्यार्थीले आफूहरुले विद्यालयमा सिकेको भनेर आफ्नो परिवार तथा गाउँघरमा सुनाउने कार्य अन्य माध्यमबाट गरिने प्रचारप्रसारभन्दा प्रभावकारी हुने भएकाले उपभोक्ता सचेतनामा समेत विद्यार्थीको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
२०७६ पुस २७ गते आइतवार १३:१९ बजे प्रकाशित