"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

देशका धेरै स्थानहरुमा भारी हिमपात, चिसोले जनजीवन अत्यन्तै कष्टकर

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। ‘वर्षा लगातार नभई केही समय रोकिँदै फेरि सुरु हुने छ,’ मौसमविद् मानन्धरले भनिन्।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

२०७६ पुस १८ गते शुक्रवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु