महानगरले माइतीघरदेखि तीनकुने सम्मको २.५ किलोमिटरमा साइकल लेन व्यवस्थापन गर्ने

काठमाडौं । काठमाडौं महानगरले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे २ किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । यसको पूर्वाधार बिकासका र लेन सञ्चालनका लागि मंगलबार तयार पारिएको गुरुयोजनाका बिषयमा सरोकारवालासँग अन्तरक्रिया गर्ने क्रममा मंगलबार योजनाका बिषयमा जानकारी दिइएको हो । अन्तरक्रियामा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — चाँडो गन्तव्यमा पुग्नु पर्ने सहरी चरित्र र बिस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नु पर्नेमा जोड दिनुभयो । सहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल चाहिन्छ, यससँगै ठूला सवारी र पैदलयात्रीको यात्रा व्यवस्थासँगै तयार पार्नुपर्छ, न्यौपानेको भनाइ थियो ।
काठमाडौं सहर निर्माण हुँदा, यहाँका सडक सहरी चरित्रकाभन्दा बढी राजमार्ग चरित्रका बनाइए । त्यसबेलाको अवस्था र व्यवस्था त्यस्तै थियो । यसलाई सुधार गरेर सबै प्रकारका सवारीलाई छुट्टाछुट्टै वा संयुक्त मार्गको व्यवस्था गर्ने र यसमा पनि वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने हाम्रो योजना हो, अन्तरक्रियामा बोल्दै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले धारणा राख्नुभयो । माइतीघर — तीनकुने सडक खण्डमा साइकल ट्र्याक सञ्चालनमा ल्याएपछि यसको सिकाइबाट सहरका अन्य ठाउँमा पनि बिस्ता गरिने उपाध्यक्ष बस्नेतको भनाइ थियो । त्यस क्रममा बोल्दै महानगरको वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले एक खण्डसँग अर्को खण्ड जोडेर लैजान सके मात्र कार्यक्रम शुरुवात्ले दिगोपना पाउने धारणा राख्नुभयो । ६ बर्ष अघि नै सञ्चालनमा आउनु पर्ने यो ट्र्याक अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको कारण कोट््याउँदै वडाध्यक्ष तण्डुकारले राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन र उपभोक्ताबीचको अन्तरसम्बन्ध स्थापना हुन नसक्नुलाई मुख्य कारण देखाउनुभयो ।
यात्रामा पहिलो प्राथमिकता पैदल यात्रीको हुन्छ । त्यसैले जुनसुकै पूर्वाधार तयार पार्दा पनि पैदल यात्रीलाई लक्षित वर्ग बनाउनुपर्छ, अन्तरक्रियामा धारणा राख्ने क्रममा वातावरणबिद् भुषण तुलाधरले — सहरका सडक डिजाइन गर्दा गाडीलाई हेरेर पूर्वाधार बनाइएकोले समस्या आएको टिप्पणी गर्नुभयो । एउटा गाडीका लागि आवश्यक ट्र्याकमा ३ वटा साइकल लेन बनाउन सकिन्छ । यी लेनबाट गाडीमाभन्दा धेरै मानिस यात्रा गर्न सक्छन्, विगतमा भएको सडक निर्माणको कमजोरी देखाउँदै तुलाधरले अब पनि यसलाई सुधार गर्न सकिने बताउनुभयो ।
अन्तरक्रियामा नेपाल साइकल सोसाइटी, काठमाडौं बिश्वविद्यालय स्कूल अफ आर्ट र जर्मनका साइकल अभियन्ता व्यवस्थापन इरिक हकम्यानले साइकल यात्रा व्यवस्थापनका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ती कार्यपत्रले, काठमाडौंमा साइकल यात्राका बिषयमा गरिएको अध्ययन प्रस्तुत गर्दै माइतीघरदेखि तीनकुनेसम्मको सडक खण्डमा प्रति घण्टा ४६ जना साइकल यात्री गुड्ने गरेको देखाएका छन् । यसमध्येका ६१ प्रतिशत यात्री सामान्य साइकल गुडाउँछन् । उनीहरुमध्ये ८१ प्रतिशत प्रयोगकर्तालाई साइकल ट्र्याक छ भन्ने जानकारी छैन । कार्यपत्रमा देखाइएका यी तथ्य, तथ्याङ् र भोगाइका आधारमा १५ जना सहभागीले साइकल ट्र्याक र यससँग सम्बन्धित व्यवहारिक पक्षमा गुनासा राख्दै सुधारका लागि सुझाव दिनुभएको थियो । यसरी प्राप्त भएका सुझावहरुमा — साइकल पार्किङ्को उचित प्रबन्ध हुनुपर्ने, साइकल यात्री सडकमा सुरक्षित हुनु पर्ने, साइकल ट्र्याक सौखिनहरुका लागि भन्दा पनि दैनिक साइकलसँग गुजारा जोडिएकासँग बढी सम्बन्धित बनाइनु पर्ने, सडकमा पर्याप्त प्रकाश र संकेत चिन्हको व्यवस्था मिलाइनु पर्ने, सरकारी सवारी साधनको प्रयोग घटाएर साइकलको प्रयोग बढाउनु पर्नेलगायत थिए । त्यस्तै गुनासाहरुमा साइकल चढ्नेलाई समाजले हेय भावले हेर्ने, साइकल प्रबर्धन गर्दा खोखिनहरुको आवश्यकतामा बढी कुरा गर्ने, साइकलसँगै गुजारा चलाउनेका बिषमया कुरा नगर्ने, कुरा वातावरणमैत्री सवारी साधनको गर्ने र प्रयोग गर्दा इन्धन भएको सवारीलाई रोज्नेलगायत थिए ।
काठमाडौंको सडकमा गुड्ने करीव साढे ६ लाख सवारी साधनको १ दशमलव ५ प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्याङ्कले देखाएको छ । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौं उपत्यका पैदल यात्रा र साइकल प्रयोगकालागि अनुकूल मानिन्छ । छोटो तथा मध्यम दुरीकालागि सहरका प्रायः जसो सबै ठाउँमा सजिलै हिँडेर र साइकलबाट पुग्न सकिन्छ । तर उपयुक्त भौतिक पूर्वाधार तथा नीति नियमको अभावमा यस्ता वातावरणमैत्री यातायात प्रणाली अवलम्बन गर्न सहरवासीलाई कठिनाइ भइरहेको छ । यसबेला माइतीघर तीनकुने साइकल ट्र्याकको सञ्चालन तयारीलाई महत्वका साथ हेरिएको छ ।
-काठमाडौं अनलाईनबाट
२०७६ मंसिर २६ गते बिहीवार १४:५१ बजे प्रकाशित