अनुगमन प्रभावकारी र नियमित हुन सकेन, मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारी संयन्त्र नै असफल
काठमाडौं । चाडपर्वका बेलामा अत्याधिक खपत हुने तरकारीको मूल्य थेग्नै नसक्ने गरी बढेको छ ।
आलु, प्याज लगायतका तरकारीको मूल्य आम सर्वसाधारणले धान्न नसक्ने गरी बढेको हो । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले विभिन्न बहानामा तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् ।
एक साताअघि बजारमा ९३ प्रतिकिलो रहेको प्याजको मूल्य अहिले १२५ नाघेको छ । त्यस्तै, एक साताअघि ६५ प्रतिकिलो पर्ने आलुको मूल्य अहिले ७५ नाघेको छ । बन्दा, काउली, मुला, भन्टा, बोडी, हरियो फर्सी, तीते करेलालगायतका तरकारीको मूल्य पनि यसरी नै बढेको छ ।
भारत र नेपालमा उत्पादनमा कमी आएपछि तरकारीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन् । नेपाल आलुमा ६० प्रतिशत र प्याजमा ९० प्रतिशत भारतमाथि निर्भर छ ।
तरकारीको बजार मूल्य अकासिए पनि किसानले भने लागतअनुसारको मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन् । यसको सबै फाइदा बिचौलियाले लिएको किसानको गुनासो छ ।
काठमाडौंको थोक बजारमा आइतबार बोडी प्रतिकिलो १२० देखि १२५ र पर्बल ९० देखि ९५ रुपैयाँमा कारोबार भयो । त्यस्तै, उपभोक्ताले भिन्डी र काउलीलाई प्रतिकिलो १ सय २० रुपैयाँसम्म तिरेका छन् ।
थोक बजारमै घिरौंला, ठूलो खुर्सानी र सिमी प्रतिकिलो ९० देखि ९५ रुपैयाँ बढीमा किनबेच भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको मूल्य सूची यस्तो छ ।
सरकारी संयन्त्र नै असफल
दशैं, तिहार, छठजस्ता ठूला चाडबाड नजिकिँदै गर्दा सरकारले दूधको मूल्य समेत बढाएको छ । प्रतिलिटर ६ रुपैयाँका दरले बढाइएको दूधको मूल्य शनिवारदेखि लागू भएको छ । दूधको मूल्यवृद्धि भएसँगै बजारमा दूधबाट बन्ने अन्य उत्पादनहरूको मूल्य समेत वृद्धि भएका छन् ।
दूधका उत्पादनहरू दही, मोही, घिउ लगायतका दुग्ध वस्तुको मूल्यवृद्धि भसकेको र चाडपर्वका बेलामा बढी माग हुने पनिर, रसमलाई, आइसक्रिम, मिठाइ लगायतका दुग्धजन्य वस्तुको मूल्यवृद्धि हुने पनि निश्चित भएको उपभोक्ता अधिकारकर्मीको दाबी थियो ।
२०७६ असोज ६ गते सोमवार १४:१७ बजे प्रकाशित