"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

विषादी परिक्षण : तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय

काठमाडौं । तरकारी तथा फलफूलमा लाग्ने रोग र किराका विरुद्ध जथाभावी विषादी प्रयोगका कारण खासगरी शहरी क्षेत्रका वासिन्दाको स्वास्थ्य जोखिममा परेको अधिकारीहरु बताउँछन्।

तरकारीको विशेष खेती हुने क्षेत्रमा प्रयोग हुने विषादी र विषादी छर्किएका तरकारी समय अगावै बजारमा ल्याइने गरेकाले जोखिम बढेको बताइन्छ। त्यस्ता विषादीको अवशेष बाँकी रहेको तरकारी उपभोग गर्दा विभिन्न कडा रोग लाग्न सक्ने विज्ञहरु बताउँछन्।

आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यस्ता विषादीको प्रभावबाट जोगिन घरभित्रै के गर्न सकिन्छ ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माका सुझाव

पहिलो उपाय
वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीनपटक सम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको विषादी पखालिएर जान्छ। ५० देखि ६० प्रतिशत विषादी त्यसरी धारामा पखाल्दा बगेर जान्छ।

दोस्रो उपाय
अझै बढी विषादीलाई हटाउनु छ भने एक चम्चा नुन एक लिटर पानीमा राख्ने र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी या फलफूललाई डुबाएर राख्ने। त्यसपछि निकालेर पखाल्दा ६० देखि ७० प्रतिशतसम्म विषादी हट्छ। नुन प्रयोग नगर्ने हो भने त्यसको सट्टा भिनेगर र पानीमा तरकारी या फलफूललाई डुबाउँदा पनि हुन्छ।

तेश्रो उपाय
अझै बढी विषादी हटाउने हो भने हामीले तरकारी वा फलफूलको बाहिरको बोक्रा छोडाउनुपर्छ। धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने गर्छ। बोक्रा छिल्ने वा नखाने गर्नुपर्छ। उदाहरणको लागि बन्दाकोभी छ भने माथिको दुई तीन पत्र नै हटाउनुपर्छ। त्यो हटायो भने पनि विषादीको प्रभाव धेरै कम हुन्छ। स्याउको पनि बाहिरको ब्रोका छोडाउन सकिन्छ । चिकित्सकहरूले कतिपय फलफूलका बोक्रामा शरीरलाई फाइदा पुर्‍याउने रेशाहरू हुन्छन् भन्ने गर्छन्। तर विषादी खाने कि नखाने भन्ने निर्णय चाहिँ हामी आफैँले गर्नुपर्छ।

चौथो उपाय
एकै प्रकारका फलफूल वा तरकारी खानु हुँदैन किनभने त्यसले विषादीको जोखिम बढाउँछ । खासगरि बेमौसमी फलफूल र तरकारीमा अलि बढी विषादी मिसिएको हुन्छ। हामीले मौसमी फलफूल र तरकारी खान जोड गर्नुपर्छ।

वीवीसीको सहयोगमा

२०७६ असार २९ गते आइतवार १९:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु