भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी, नेपालीमा पनि उत्तिकै विषादी, (भिडियोमा हेर्नुहोस्)
‘भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण स्थगित गर्नु उपभोक्ता हितविपरीत’

काठमाण्डौ । भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी रहेको कृषि विज्ञले बताएका छन् । रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको उनीहरुको भनाइ छ ।
‘कालिमाटीमा आउने सबैजसो तरकारी भारतकै हो’ कृषिविज्ञ कृष्णप्रसाद पौडेलले भने, ‘जसमा ९० प्रतिशतसम्म विषादी मिसाइएको छ । स्वास्थ्यका दृष्टिकोणले खान योग्य छैन ।’
लामो समयदेखि अत्याधिक विषादी मिसाइएको तरकारी आइरहेको भए पनि सरकारले बल्ल विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । तर शुक्रबार भारतको दबाबपछि पूर्वाधार नपुगेको भन्दै सरकारले विषादी परीक्षणको काम स्थगित गरिदियो ।
यसले उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ । स्वदेशी किसान मारमा परेका छन् । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको ‘साहसिक कदम’लाई कार्यान्वयन गर्न नसक्नुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार फेरि आलोचित बनेको छ ।
‘प्रविधि र पूर्वाधार नपुगेर विषादी परीक्षण स्थगित गरेको भन्नु एउटा बहाना मात्रै हो’ कृषिविज्ञ मदन राई भन्नुहुन्छ, ‘विष हालेको भारतीय तरकारीलाई परीक्षण गरेर रोक्नु र स्वदेशी किसानलाई प्रोत्साहन गर्न सरकार फेरि चुकेको छ ।’
नेपालीमा पनि उत्तिकै विषादी
अहिले विषादी परीक्षणको चर्चा चल्दा भारतीय उत्पादनमा मात्रै पो विषादी हुने हो कि भन्ने खालको स्तरमा मानिसहरुले सोच्न थालेका छन् । तर ‘भारतबाट आयातित तरकारी’ मा मात्रै विषादी हुने ढंगले मात्रै चर्चा गर्नु गलत हुन्छ । तरकारी वा फलफूलमा विषादी परीक्षण गर्दा भारतीयहरु मात्रै हैन, धेरै तरकारी तथा फलफूल त नेपालकै अयोग्य भेटिएको छ ।
यस आर्थिक वर्षमा गरिएको नमुना संकलन तथा परीक्षणमा धादिङबाट आएको सिमी र ब्रोकाउलीमा विषादीको मात्रा बढी भेटेर नष्ट गरिएको छ भने सर्लाहीबाट आएको गोलभेंडामा पनि त्यस्तै समस्या देखिएको छ ।
जानकारहरुका अनुसार, किनभने भारतबाट नेपालसम्म आइपुग्दा विषादीको वेटिङ पिरियड सकिएको हुन्छ र विषादीको प्रभाव पनि कम भइसकेको हुन्छ । तर काठमाडौं नजिकैका धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, चितवन तथा सर्लाहीसम्मका तरकारी चाँडो काठमाडौं आइपुग्ने भएकाले यी स्थानहरुका तरकारीमा विषादीको मात्रा बढी पाइन्छ । त्यसकारण भारतबाट आउने विषादी प्रयोग गरिएका तरकारीहरुमा जोखिम छँदैछ, त्यो भन्दापनि बढी कैयौं गुना बढी जोखिम चाहिँ नेपालकै तरकारीमा पनि हुने हुन्छ ।
राष्ट्रिय मानवअधिकार आयोगले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्नु संविधान र उपभोक्ताको हित विपरीत भएको जनाएको छ ।
परीक्षण स्थगित गर्नु उपभोक्ता हितविपरीत
सरकारले विषादी परीक्षण थालेर पनि स्थगित गरेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मानवअधिकार आयोगले विज्ञप्ति निकालेर नागरिकको उपभोक्ता हित अधिकार सुनिश्चित नगर्नु संविधान विपरीत भएको जनाएको हो । आयोगले नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुने र गुणस्तरहीन वस्तु तथा सेवाबाट हानी नोक्सानी भएमा क्षतिपूर्ति पाउने हकको सुनिश्चिता गरेको उल्लेख गरेको छ ।
यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ आम उपभोक्ताको सूचित र सुरक्षित हुन पाउने अधिकारलाई सुनिश्चित गरेकाले सरकारको निर्णय संविधान र उपभोक्ता हक अधिकारविपरीत रहेको आयोगको ठहर छ । भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको भन्दै मानवअधिकार आयोगले यसबाट नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने जनाएको छ ।
साथै आयोगले विषादीजन्य तरकारी तथा फलफूललाई निरुत्साहित गर्न र स्वदेशी उत्पादन बढाउन तथा स्वस्थ भएर बाँच्न पाउने उपभोक्ताको हक अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
भिडियोमा हेर्नुहोस् ।
२०७६ असार २४ गते मंगलवार १४:४६ बजे प्रकाशित