सुर्ती सेवनबाट नेपालमा प्रत्येक वर्ष २५ हजारको मृत्यु, नियन्त्रणमा सबै जिम्मेवार हुन चिकित्सकको चेतावनी
विश्वमा प्रत्येक पाँच सेकेन्डमा एकजनाको, बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक
काठमाडौं । सुर्ती सेवनबाट नेपालमा बर्सेनि २५ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताए । मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस एवं स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण कार्यक्रममा डा. देवकोटाले यसलाई नियन्त्रण गर्न सबै जिम्मेवार हुनुपर्ने बताए । डा. देवकोटाले प्रत्येक वर्ष २५ हजार नेपालीले सुर्ती सेवनकै कारण ज्यान गुमाउनुपरेको बताए । त्यस क्रममा उनले सुर्ती सेवनका कारण विश्वमा प्रत्येक पाँच सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको जानकारी दिए । सुर्ती सेवनबाट प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको पनि उनले बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवन रोक्न सके मृत्युदर स्वतः घट्ने बताए । उनले गुड्खाको प्रयोग व्यापक मात्रामा बढेकाले यसलाई रोक्न पनि आग्रह गरे । ‘विश्वका ठूला सहरहरू गुड्खाकै कारणले फोहोर छन् । भारतमा त यसको खोलले ढल जाम भएको अवस्था छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘नेपालमा पनि गुड्खाको खोलले ढल जाम हुने अवस्था देखिएको छ ।’ सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानुन बने पनि कार्यान्वयनमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।
नेपालमा ९० लाख अम्मली
स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालले सुर्ती सेवन गर्नेहरू गरिब परिवारका बढी भएको बताए । उनका अनुसार नेपालमा ४८ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाले चुरोट सेवन गर्छन् । नेपालमा ९० लाख मानिसले चुरोट सेवन गर्छन् । नेपालका अनुसार यस क्षेत्रमा राज्यको लगानी वर्षमा एक अर्ब हुने गरेको छ । हुक्का सिसाको प्रयोग रोक्न पनि नेपालले आग्रह गरे । युवाको आकर्षण त्यसको प्रयोगमा बढ्दै गएकाले बारहरूमा प्रयोग गरिने हुक्का सिसा रोक्न माग गरे ।
चेतनाको अभावले समस्या : स्वास्थ्यमन्त्री
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समाजमा चेतनाको कमीले समस्या बढ्दै गएको बताए । ‘संसारकै उत्कृष्ट कानुन बनेको छ, तर पालना कहीँबाट हुँदैन,’ चिकित्सक नै सुर्ती सेवनबाट रोग लाग्छ भन्छन्, तर दायाँबायाँ लागेपछि आफैँ सेवन गर्छन् । यस्तो संस्कारले अगाडि बढ्न दिँदैन,’ मन्त्री यादवले भने । समाज सचेत नहुँदासम्म यसको प्रयोग रोक्न नसकिने उनले बताए ।
सुर्ती सेवनविरुद्ध विद्यार्थीको यालीभरतपुर चितवनको बोस्टन इन्टरनेसनल कलेज र लिटिल स्टार बोर्डिङ स्कुलले शुक्रबार विश्व धूम्रपान तथा सुर्तीरहित दिवस मनाएका छन् । धूम्रपानका कारण हुने क्षति न्यूनीकरण गर्न तथा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न सन्देश दिने उद्देश्यले दिवस मनाएको लिटिल स्टारका व्यवस्थापन समितिका अध्यक्ष आनन्दबहादुर चन्दले बताए ।
दिवस मनाउने क्रममा विद्यार्थीले सुर्तीजन्य पदार्थ त्यागौँ, स्वस्थ र खुसीयाली जीवन बिताऔँ, धूम्रपानले निम्त्याउँछ प्राणघातक रोग, जसले दिन्छ परिवारमा दुःख र शोकजस्ता नारा लेखिएका प्लेकार्डसहित भरतपुरका विभिन्न क्षेत्रमा (याली निकालेको जानकारी दिए । ¥यालीमा लिटिल स्टारको स्काउट टिम पनि सहभागी थियो । विश्व स्वास्थ्य संगठनको आह्वानमा ३१ मेमा संसारभर यो दिवस मनाउने गरिन्छ ।
नयाँ पत्रिकाबाट
२०७६ जेठ १८ गते शनिवार १०:२२ बजे प्रकाशित