"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुशी बढाए, उपभोक्ता मारमा

सरकार भन्छ – अनुगमनलाई प्रभावकारी गराउदै ठाउँको ठाउँ कारबाही गर्छौं

काठमाण्डौ । सरकारले बजेट सार्वजनिक गरेको भोलिपल्टदेखि नै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुशी बढाएका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषण गरेर सक्न नपाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुशी बढाएका हुन् ।

बजेट भाषणअघि पनि केही उपभोग्य सामाग्रीको मूल्य बढेको थियो । भारतमा भएको लोकसभा चुनावका कारण सीमा नाका बन्द हुँदा बढाइएको उपभोग्य वस्तुको मूल्य चुनाव सकिएर नतिजासमेत आइसकेपछि पनि घटेको छैन । उल्टै बजेटको कारण देखाउँदै उपभोग्य वस्तुको मूल्य अझै बृद्धि गर्ने दाउमा व्यापारीहरु लागिपरेका छन् ।

चुनावका बेला नाका बन्द हुँदा टमाटरको मूल्य प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको थियो । अहिले पनि टमाटरको भाउ झण्डै प्रतिकिलो १२० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । चुनाव अघिसम्म टमाटर ७०/८० रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।

बढ्यो दाल, चामल र तेलको मूल्य

कुलेश्वर बस्दै आउनुभएकी ज्ञानु श्रेष्ठले एक हप्ताअघि मात्र कालिमाटीको एक पसलबाट १३० रुपैयाँमा रहरको दाल खरिद गर्नुभएको थियो । बिहीबार त्यही पसलमा रहरको दाल लिन पुग्दा १४० रुपैयाँ पुगिसकेछ । एक हप्तामै किलोमा १० रुपैयाँ किन बढेको भनेर सोध्दा पसलेले बजेटमा कर्मचारीको तलब बढ्दा यस्ता वस्तुको मूल्य पनि बढेको तर्क गरे ।

अहिले बजारमा रहरको दाल मात्रै होइन मसुरोको दाल पनि प्रतिकिलो १० रुपैयाँले बढेको छ । यस्तै चिनी ५ रुपैयाँ, चामल बोरामा ५० रुपैयाँ, खाने तेल प्रतिकिलो प्याकेटमा १० रुपैयाँले बढेको छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार यो मूल्य भारतमा सम्पन्न लोकसभा चुनावका बेला भएको सीमा बन्दको प्रभावले बढेको हो । अहिले चुनाव सकिएर नतिजा आइसकेको अवस्थामा मूल्य घट्नु पर्ने थियो तर अझै घटेको छैन ।

अब व्यापारीहरुले बजेटलाई कारण देखाउँदै त्यही मूल्य यथावत राख्न सक्ने वा त्यो भन्दा अझै बढाउन सक्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

आफूहरुले भन्दा पनि ठूला व्यापारीले भाउ बढाए भने त्यसको असर सबैतिर पर्ने उहाँ बताउनुहुन्छ । कृत्रिम मूल्यवृद्धि रोक्न सरकार विशेष योजनाका साथ आउनुपर्नेमा सरकार नै उदासिन बन्दा केही व्यापारीले मनपरी मूल्य बढाउने सम्भावना रहेको श्रेष्ठ बताउनुहुन्छ ।

खुद्रा व्यापारीहरुको छाता संगठन नेपाल खुद्रा व्यापार संघको शुक्रबार बैठक बसेर बजारमा देखिएको कृत्रिम मूल्य बृद्धिका बारेमा आवश्यक निर्णय लिन लागिएको पनि उहाँले बताउनुभयो । खुद्रा व्यापार संघ उपभोक्तालाई मारमा पार्ने गरी कृत्रिम मूल्यवृद्धिको पक्षमा नरहेको उहाँले बताउनुभयो ।

फितलो अनुगमन

सरकारले बजेटमार्फत मदिरामा औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको छ । सूर्तीजन्य पदार्थको अन्तःशुल्कमा १२ प्रतिशत वृद्धि भएको छ । यस्तै फलफूल जुस र ड्राइफुड तथा जंकफुडमा अन्तःशुल्क र भन्सार वृद्धि गरेको छ । सिमेन्ट, फलामे डन्डीमा पनि १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।

बजेटमा अन्तःशुल्क र राजश्व वृद्धि भएको देखाउँदै व्यापारीहरुले अन्तःशुल्क नबढेका अन्य खाद्यसामाग्रीको पनि भाउ बढाउने मौका पाएका हुन् । राजश्व बृद्धि भएका कारण भाउ बढाउनुपरेको व्यापारीको भनाई छ । तर बजेट साउनदेखि मात्र लागू हुने भएकाले अहिले बढेको मूल्यवृद्धि कृत्रिम हो । तर यस्तो कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कुनै खोजीनीति नै गरेको छैन । न अध्ययन र कालोबजारी गर्नेलाई काराबाही नै गर्न सकेको छ ।

आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक भएसँगै मूल्यवृद्धि हुन नदिन आफूहरु बजार अनुगमन बढाउने तयारीमा लागेको सरकारको दाबी छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बजारमा कृत्रिम मूल्यवृद्धि रोक्न कडाइका साथ अनुगमन गरिने बताउनुभयो ।

बजेट सार्वजनिक भएको दुई दिन मात्रै भयो,’ उहाँले भन्नुभयो, ‘व्यापारीले मनपरी मूल्य बढाउन पाउँदैन हामी अनुगमन पनि गर्दैछौँ, यदि बढाएको भेट्यौँ भने ठाउँको ठाउँ कारबाही गर्छौँ ।’

तर नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठ भने सरकारकै उदासिनताका कारण केही व्यापारीले उपभोक्तालाई मारमा पर्ने गरी मूल्यवृद्धि गर्न तल्लिन रहेको बताउनुहुन्छ । संघ अहिले उपभोग्य सामाग्रीको मूल्य बढाउने पक्षमा नरहेको भन्दै उहाँले बजेटकै कारण देखाएर बजारमा भाउ आकासिने अवस्था आए संघले त्यसबारे निर्णय लिने बताउनुभयो ।

कञ्जुमर आई नेपाल कि अध्यक्ष विमला खनालले  बजेट सार्वजनिक हुन नपाउँदै व्यापारीले दैनिक उपभोग्य सामाग्रीमा कृत्रिम मूल्य बृद्धि गर्नु लोककल्याणकारी राज्यको उपहास भएको बताउनुभयो । महंगीले भान्साको खर्च धान्न नसक्ने अवस्थामा पुगेको भन्दै उहाँले नागरिकलाई लोककल्याणकारी राज्यको अनुभूति दिलाउन राज्य कडाइका साथ लाग्नुपर्ने सुझाव पनि दिनुभयो ।

व्यापारीहरुले कति सामान आयात गरे, कति भण्डारण गरेर राखेका छन् र भाउ कसरी निर्धारण गर्छन् भन्ने जानकारी नहुँदा बजारमा मूल्यवृद्धि हुँदा पनि सरकारले चासो दिन सकेको छैन । पहिले भण्डारण गरेर राखेका सामानमा पनि व्यापारीहरुले मूल्यवृद्धि गरेर बजारमा बेचिरहेका छन् ।
-उज्यालोअनलाईनबाट

२०७६ जेठ १७ गते शुक्रवार १३:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु