मौसम शुक्रबार पनि आशिंकदेखि सामान्य बदली हुने संभावना
काठमाण्डौ । उपत्यकासहित मध्य र पूर्वको मौसम शुक्रबार पनि आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।
अन्य ठाउँको मौसम पनि आशिंक बदली हुने उहाँले बताउनुभयो । मौसमविद् पोख्रेलका अनुसार शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ ।
बुधबारदेखि नै पानी परिरहेकोले बढ्दै गइरहेको गर्मी भने केही घटेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।
२०७६ जेठ १७ गते शुक्रवार ०८:०८ बजे प्रकाशित