"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यात्रुलाई महानगरपालिकाको योजना : सार्वजनिक यातायातमा स्मार्ट कार्ड लागु गर्ने तयारी के के छन् चुनौती

एजेन्सी /विविसि, काठमाडौं । सवारी तथा यातायात व्यवस्थापन ऐन अनुसार सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत् भाडा तिर्ने व्यवस्था आउँदो आर्थिक वर्षबाट गर्ने गरी काम भइरहेको काठमाण्डू महानगरपालिकाले जनाएको छ।

साउनबाट काठमाण्डू महानगरपालिका भित्रका सार्वजनिक यातायातमा ई-टिकटमार्फत् भाडा तिर्ने व्यवस्था गरिने बताइएको छ। यात्रुलाई ई-टिकटमार्फत् भाडा तिर्न असहज हुनसक्ने भन्दै कागजी टिकटलाई पूर्ण रुपमा विस्थापित भने नगरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

महानगरपालिकाले यस्तो तयारी गरिरहँदा कतिपयले भने सार्वजनिक यातायातका चालक र सहचालकहरूलाई ई९टिकटको व्यवस्थामा लैजान कठिनाइ हुने भन्दै शङ्का व्यक्त गरेका छन्।

भाडामा पारदर्शिता कसरी होला ? 

भाडादर स्वचालित रूपमा प्रयोगमा आउने भएकोले यसबाट यात्रुहरू नठगिने र पैसा सिधै ब्याङ्कमा जम्मा हुने भएकोले यो व्यवस्था कार्यान्वयनमा आउनुपर्नेमा धेरैको जोड देखिन्छ।यात्रुको सहजता र भाडाको पारदर्शिताको उद्देश्यले ऐनको व्यवस्था अनुसार यसलाई कार्यान्वयनमा लैजान लागिएको डंगोलले बताए।

उनले भने, एकैपटक ई-टिकटमा लैजाँदा असम्भव हुनसक्छ तर हामी यो साउन महिनाबाट काठमाण्डूका बसहरूमा थाल्छौँ। तर कागजी टिकटलाई पनि पूर्ण रुपमा विस्थापित चाहिँ गर्दैनौँ।

काठमाण्डूभित्रका अधिकांशजसो सार्वजनिक यातायातमा कागजी टिकट प्रणालीसमेत राम्ररी प्रयोगमा नरहेको बेला महानगरपालिकाले विद्युतीय टिकटलाई अभ्यासमा ल्याउन लागेको हो।

ई-टिकटमार्फत भाडा तिर्नको लागि यात्रुले दुई सय रुपैयाँको स्मार्ट कार्ड किन्नुपर्नेछ।

उक्त कार्ड मेसिनमा राखेपछि कहाँदेखि कहाँसम्म यात्रा गर्ने त्यसको आधारमा पैसा काटिने व्यवस्था रहेको डंगोलले बताए। यो कार्ड ब्याङ्कको एटिएम जस्तै देखिने र त्यसमा पैसा थप्न गर्न मिल्ने डंगोलले बताए।

साझाको परीक्षण
साझा यातायातले भने स्मार्ट कार्डबाट भाडा तिर्न यात्रुले कति सहज महसुस गर्छन् भन्ने परीक्षण गर्नका लागि पाँच सयवटा कार्ड बेचेको छ। उक्त कार्डलाई यात्रुले यातायातका साधन चढेपछि सहचालकलाई दिने र उनैले कार्डबाट पैसा असुल गर्ने गर्छन्। अहिलेसम्मको परीक्षण सकारात्मक देखिएकोले थप पाँच सयवटा कार्ड बनाउने काम भइरहेको साझा यातायातले जनाएको छ। यस्तै व्यवस्था पोखरामा पनि सुरु भइसकेको छ।

तर तुलनात्मक रूपमा सार्वजनिक यातायातमा मानिसको भीड काठमाण्डू उपत्यकामा हुने भएकाले स्मार्ट कार्ड लागु गर्न असम्भव नभए पनि केही चुनौति भने रहेको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले बताए।

चुनौती के के छन्
तुलाधरका अनुसार स्मार्ट कार्ड व्यवस्थालाई कार्यान्वयन गर्न दुईवटा चुनौतीहरू छन्। उनी भन्छन्, बसका चालक र सहचालकहरूले अहिले गाडी साहुसँग लिने अनि उसलाई निश्चित रकम दिने गरिरहेको देखिन्छ। स्मार्ट कार्ड भएपछि साहुले पनि कति रकम कमाइ हुन्छ थाहा पाउँछ। त्यसैले चालकहरू अनिच्छुक हुनसक्छन्। अर्को, यात्रुलाई ई-टिकट सजिलो नलाग्न सक्छ।

कानुन नबन्दा प्रस्तावमै सीमित यातायात प्राधिकरण
तर उनले पोखरामा सम्भव भइसकेको कुरा काठमाण्डूमा समय लागे पनि सम्भव हुने बताए महानगरपालिकाले चाहिँ यसमा चुनौती भए पनि ऐनमै भएको व्यवस्थालाई कसैले मान्दैनौँ भन्न नमिल्ने जनाएको छ। साझाले थालिसकेकोले उनीहरूसँगको परामर्शमै महानगरपालिकाले अन्य यातायातमा पनि स्मार्ट कार्ड प्रयोगमा ल्याउने योजना अनुसार छलफल गरिरहेको बताइएको छ।

त्यसबाहेक यात्रुले सुरुमै झन्झटिलो नमानून् भन्नका लागि उनीहरूलाई ई९टिकेट वा कागजको टिकट जे सजिलो हुन्छ त्यही विकल्प दिने प्रवक्ता डंगोलले बताए। उनले कागजको टिकटलाई एक वर्षभित्र विस्थापित गर्ने लक्ष्यसहित काम भइरहेको पनि बताएका छन्।

२०७६ वैशाख २८ गते शनिवार १५:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु