"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्राधिकरणले चेतावनी दिदा पनि किन ह्वात्तै बढ्यो काठमाडौं-दिल्लीको हवाई भाडा

काठमाडौं । दिल्ली–काठमाडौं सिधा उडान हवाई टिकटमा भएको अत्यधिक वृद्धिले विशेषगरी काठमाडौं र आसपासका क्षेत्रबाट दिल्ली आउनेहरूलाई बढी समस्या परेको छ । पोखराका एक युवा विगत एक महिनादेखि आमाको पित्तथैलीको क्यान्सरको उपचारका लागि दिल्लीमा थिए । चिकित्सकले पन्ध्र दिनपछि आउन भनेकाले उनले दिल्लीमा बस्नुभन्दा घर पुग्ने निधो गरे । हवाई टिकट खोज्न थाले ।

‘हवाई भाडा सुन्दा सुरुमा पत्यारै लागेन,’ उनले भने, ‘दिल्ली आउँदा आमा र मेरा लागि २४ हजार रुपैयाँ मात्र तिरेको थिएँ । अहिले ३३ हजार भारु ९करिब ५३ हजार० पर्ने रहेछ ।’ उनले आमाको स्वास्थ्यका कारण दोब्बर महँगो भए पनि प्लेनबाट जाने निधो गरेको सुनाए ।

हवाई भाडा एकाएक वृद्धि हुनुमा भारतीय निजी विमान सेवा कम्पनी जेट एयरवेजको उडान स्थगितलाई ठानिएको छ । वित्तीय संकटका कारण भारतको सबैभन्दा ठूलो निजी वायुसेवा कम्पनी जेट एयरवेजका सबै उडान गत सातादेखि स्थगित भएका छन् । त्यसअघि कम्पनीले दिल्ली–काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो ।

जेटको उडान स्थगितपछि हवाई टिकटको माग र आपूर्तिबीच असन्तुलन सिर्जना भएकाले पर्यटकीय सिजनले महँगिँदै गएको दिल्ली–काठमाडौं हवाई भाडामाथि थप चाप परेको हो । एक महिनाअघिसम्म दिल्ली–काठमाडौं न्यूनतम हवाई भाडा करिब पाँच हजार भारु रहेकामा अहिले बढेर १८ हजार भारु नाघेको छ । कतिपय कम्पनीहरूको भाडा ३० हजारभन्दा बढी छ । अन्य विमानको तुलनामा नेपाल वायुसेवा निगमको भाडा कम छ । आगामी बुधबार निगमको दिल्ली–काडमाडौंको भाडा १८ हजार ७ सय रुपैयाँ रहेकोमा इन्डिगोको २५ हजार र एयर इन्डियाको ३२ हजार छ ।

मार्चदेखि जुन महिना नेपालमा पर्यटकीय सिजन मानिन्छ । यो समयमा पदयात्रादेखि पर्वतारोहणका लागि पश्चिमा मात्र होइन, भारतीय पर्यटकको समेत रोजाइमा नेपाल पर्ने गरेको छ । ‘विगतमा पनि यो अवधिमा हवाई भाडा चर्को हुने गर्थ्यो,’ नेपाल वायुसेवा निगमका दिल्ली प्रमुख टंक भण्डारीले भने, ‘त्यसमाथि जेटको दैनिक चारवटा उडान स्थगित भएपछि प्रभाव देखिनु स्वाभाविक हो ।’ राजीव गान्धी क्यान्सर अस्पताल छेउको सोमबजारस्थित एनबी टुर्स एन्ड सञ्चालक विष्णु शाहीले चर्को हवाई भाडाका कारण आफूले बिरामीको अवस्था हेरेर ट्रेनलगायतका विकल्प सुझाउन थालेको बताए ।

‘बिरामीको अवस्था ठीक छ भने काठमाडौं सिधा नगएर नजिकका सहरसम्म ट्रेन वा प्लेनबाट जान सुझाव दिने गरेको छु,’ शाहीले भने । निगमले हाल न्यारो र वाइडबडीबाट काठमाडौं–दिल्ली उडान गर्दै आएको छ । निगमले यो रुटमा बढदो चापकै कारण मे १ देखि दैनिक दुइटा उडान गर्ने निर्णय गरिसकेको छ । त्यसपछि हवाई भाडा केही कम हुने अपेक्षा गरिएको छ ।

त्यसो त भारतको नागरिक उड्डयन प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)दुवैले अस्वाभाविक रूपमा हवाई भाडा नबढाउन चेतावनी दिइसकेका छन् । वायु सेवा कम्पनीहरूले त्यसको अटेर गर्दै आएका छन् ।
–कान्तिपुरबाट

२०७६ वैशाख १० गते मंगलवार १५:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु