श्रमिक आन्दोलनका कारण नेपाली चियाको अन्तर्राष्ट्रिय बजार गुम्ने जोखिम

इलाम । गुणस्तरीय चिया उत्पादन गर्न दुईपात एक सुइरो हरियो पत्ति टिप्नु पर्दछ । तर झापा र इलामका बगानमा पत्ति नटिपिएको २० दिन भयो । श्रमिकले सरकारले तोकेको न्युनतम ज्याला पाउनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् । जसका कारण बोटमा लामो भएको पत्ति काटेर फाल्नु पर्ने अवस्था छ । पहिलो सिजनको चिया उच्च गुणस्तरको हुने र धेरै मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने भएपनि उद्योगीले यसपटक त्यो अवसर गुमाइसकेका छन् । उच्च गुणस्तरको चिया उत्पादन गर्ने पत्ति खेर गएकाले अन्तर्राष्ट्रिय बजार नै गुम्न सक्ने जोखिम रहेको सरकारी अधिकारी बताउँछन् ।
गत आर्थिक वर्ष विदेशमा दुई अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । अन्य कलकारखाना र उद्योगमा काम गर्ने मजदुरको दैनिक ज्याला ५ सय १७ रुपैयाँ छ । तर चिया बगानका श्रमिकको न्यूनतम ज्याला भने ३ सय ८५ रुपैयाँ मात्र तोकिएकामा उद्योगीले त्यो ज्याला पनि दिन मानिरहेका छैनन् । आन्दोलनरत ३५ हजार चिया श्रमिक अन्य श्रमिकसरह ज्याला पाउने सुनिश्चित नभएसम्म काम नगर्ने अडानमा छन् ।
–कान्तिपुरबाट
२०७६ वैशाख १० गते मंगलवार १५:१० बजे प्रकाशित