लगानी सम्मेलनको तयारी पूरा, ४० देशका ६ सय बढी लगानीकर्ताले सहभागिता जनाउने

काठमाडौँ । काठमाडौंमा हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ । १५ र १६ गते हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी सरकारले पूरा गरेको अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन् ।
सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । सम्मेलनमा ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहनेछ । त्यसैगरी, सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैर–आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ ।
उक्त दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ । यस्तै सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी छ ।
सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको छ ।
सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन र विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकाय ९एमआइजीए०का उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डाको सहभागिता रहनेछ ।
यस्तै अन्तर्राष्ट्रिय वित्त निगम ९आइएफसी० का आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंक ९एआइआइबी०का लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विदेशी कम्पनीको पनि प्रतिनिधित्व हुने अर्थमन्त्री खतिवडाले जनाएका छन् ।
सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण , नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुनेछन् । त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु सञ्चालन हुनेछन् ।
लगानी सम्मेलन सफल रुपमा आयोजना गर्न माननीय अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा। यूवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ । सम्मेलनले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने अर्थमन्त्रालयको दाबी छ ।
२०७५ चैत १३ गते बुधवार १८:०२ बजे प्रकाशित