जथाभावी पार्किङ गर्ने एक हजार ५ सय ४८ सवारी साधनमा ‘ह्वील लक’

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५ सय ४८ सवारी साधनलाई कारबाही स्वरूप ‘ह्वील लक’ ९सवारी साधनको पाङ्ग्रामा साँचो लगाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए।
‘बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरूप ह्वील लक लगाएर कारबाही गरेका हौैं’, उनले भने।
मङ्सिर ८ गतेदेखि सुरू गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारबाही गरिँदै आएको हो।
महाशाखाले सडकलाई अवरोध पुर्याउने गरेर जथाभावी रूपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवना गर्दै आएको छ।
ट्राफिक प्रहरीले ह्वील लक लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारबाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टिकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ।
महाशाखाका अनुसार ह्वील लक खुलाउन स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ।
यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन (मापसे) कारबाही, सिसीटिभी कारबाही, गोप्रो बडिवान क्यामरालगायतका कारबाही गर्दै आएको छ।
–रासस
२०७५ फागुन २७ गते सोमवार १६:३० बजे प्रकाशित