"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

निर्णय भएको दुई महिनापछि बल्ल पिसीआर मेशिन किन्न बजेट छुट्याइयो

बागलुङ । धवलागिरि अस्पतालमा पिसीआर मेशिन राख्न मन्त्रीस्तरीय निर्णय भएको दुई महिनापछि बल्ल बजेट छुट्टएिको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार १२ गते धवलागिरि अस्पतालसहित १० अस्पतालमा पिसीआर मेशिन राख्ने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले पिसीआर मेशिन खरिदका लागि रु एक करोड बजेट विनियोजन गरेको व्यहोराको पत्र जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार प्राप्त भएको अस्पतालले जनाएको छ ।

निर्णय भएको महिनौँ बित्दासमेत मेशिन नआएपछि सर्वसाधारणमा गुनासो बढेको थियो । यस क्षेत्रमा पिसीआर मेशिन नहुँदा कोरोना जाँचका लागि प्रदेश राजधानी पोखरामा निर्भर रहनुपर्ने बाध्यता छ । प्रदेशभरिबाट सङ्कलन हुने स्वाबको चापका कारण रिपोर्ट ढिला आउने गरेको छ । यहीँ पिसीआर जाँच सेवा शुरु भएमा धवलागिरि क्षेत्रका चारै जिल्लाले लाभ लिनेछन् ।

ढिलै भए पनि बजेटबारे निर्णय भएकाले अब मेशिन खरिदका लागि कसरी अगाडि बढ्ने विषयमा छलफल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । मेशिन खरिद, जडान, जनशक्ति व्यवस्थापन र सञ्चालनमा धेरै खर्च हुने भएकाले उक्त बजेट अपुग हुने देखिएको उनको भनाइ छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र विक पोखरेलले बजेटको अख्तियारी प्राप्त हुनासाथ मेशिन खरिदको प्रक्रिया अगाडि बढाइने बताए।

मेशिन राख्ने निर्णय कार्यान्वयनमा देखिएको अन्योलता बजेट विनियोजन भएसँगै हटेको उनको भनाइ छ । यसअघि पिसीआर मेशिन सरकार आफैँले खरिद खरेर अस्पताललाई दिने हो या अस्पताल आफँैले किन्ने भन्ने विषय स्पष्ट भएको थिएन । “मेशिन कहाँ राख्ने, कसरी जनशक्ति व्यवस्थापन गर्ने भन्ने विषयमा हामी कार्ययोजना बनाउँदैछौँ”, मेसु पोखरेलले भने ।

उनले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगसमेत सहकार्य गरेर काम गरिने उल्लेख गरे । “पिसीआर जाँचका लागि हामीलाई जनशक्तिको खाँचो छ, माइक्रोबायोलोजिस्टको समेत आवश्यकता पर्छ”, उनले भने । अस्पतालका सिनियर ल्याब टेक्नोलोजिस्ट पनि अहिले पिसीआर जाँचका लागि पोखरामा खटिनुभएको छ ।

“खर्चको अख्तियारी आउनासाथ मेशिन खरिद प्रक्रिया थाल्छौँ, यथाशक्य छिटो पिसीआर जाँच सेवा शुरु गर्छौँ”, मेसु पोखरेलले भने। गण्डकी प्रदेशमै पहिलोपटक गत चैतमा बागलुङकी १९ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै धवलागिरि अस्पतालमै पिसीआर मेशिन राख्नुपर्ने आवाज उठेको थियो ।

त्यसताका स्वाबको नमूना पठाएको हप्तौँसम्म पनि रिपोर्ट नआउने स्थिति थियो । पछिल्लोपटक प्रदेशमा रहेका प्रयोगशालाको क्षमता केही बढाइए पनि त्यो पर्याप्त छैन । स्वास्थ्य कार्यालयका अनुसार बागलुङमा हालसम्म २९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमध्ये २६१ जना निको भएका छन् भने ३० जना आइसोलेसनमा छन् । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

२०७७ भदौ १३ गते शनिवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु