"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.

भक्तपुरको मासु पसलमा तिन दिनदेखि अनुगमन, झिङ्गा भन्काउँदै मनोमानी मूल्यमा मासु बिक्री

भक्तपुर । भक्तपुर नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । विगत तीन दिनदेखि मासु पसलको अनुगमन गर्दै आएको नगरपालिकाले आज पनि विभिन्न ठाउँमा रहेको मासु पसलको अनुगमन गरेको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाको सहभागितामा भार्वाचो, टेखापुखु, वंशगोपाल, देगमना र बाराही डोकाफल्चामा रहेका मासु पसल अनुगमन गरिएको हो ।

कोभिड १९ महामारी विश्वमा फैलिरहेको बेलामा बासी तथा अस्वस्थकर मासुको बिक्री भएको गुनासो आएपछि मासुबाट हुनसक्ने सङ्क्रमणलाई रोक्न, पसललाई व्यवस्थित र सफा पार्न, मासु काट्ने औजार, ढक तराजुको सफाइ, सडेगलेका मासु बिक्री रोक लगाउन र मापदण्ड पुगे नपुगेको हेर्न अनुगमन तीव्र पारेको संयोजक गोराले जानकारी दिए ।

अनुगमनमा हेरानानी शाहीको मासु पसल, बाराही चिकेन सप, छोरी माया शाहीको मासु पसल, मासु संसार, बाराही न्यू कोल्ड स्टोरलगायतमा आज भएको अनुगमनमा मासु पसलमा सुधार नभएको पाइएको छ । मासु पसल दर्ता नवीकरण नगरेको, मनपरि मूल्य लिएको, मूल्यसूची नराखेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, कतिपय पसलमा मासुमा झिङ्गा भन्किएको पाइएको, जाली नराखेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, डिजिटल तराजु प्रयोग नगरेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

पटक पटकको अनुगमनले अनुरोध गर्दा पनि सुधार नगर्ने दुई पसलबाट ढक दुई थान अनुगमन समितिले जफत गरेको छ । अनुगमन समितिले दिएको निर्देशन तत्काल पालना गरी सुधार नगरे अर्को अनुगमनमा कडा कारवाही गरिने जनाएको छ ।

बजार अनुगमन गर्दा मासु  पसलेहरुले मनाेमानी रुपमा मासुकाे मुल्य लिइरहेकाे‍ अनुगमनकर्ताहरुले बताएका छन् । यता उपभाेक्ताहरुले बजारमा खसीकाे मासु प्रतिकिलो रु. १८ सय सम्म तिर्न बाध्य भएको गुनोसो छ । यसरी मासुकाे मुल्यमा जताभावी मुल्य बढाउदा उपभाेक्ता मारमा परेकाे गुनासाे छ ।

 

२०७७ वैशाख १० गते बुधवार १८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु