"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

वायु प्रदूषणमा विश्वका ५० सहरमध्ये काठमाडौं एक नम्बर, बिना काम घर बाहिर ननिस्कन सुझाव

काठमाडौँ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।

विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साaधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारी साधन नचलाउन समेत उनले आग्रह गरे । वायुप्रदूषण ह्वात्तै बढाउने कारक तत्वमध्ये उपत्यकाका इँटा उद्योग, सवारी तथा कलकारखानाबाट निस्किएको धुवाले वातावरणलाई दूषित बनाएको उनले सुनाए । जाडो याममा इँटा उद्योगहरुले इँटा पोल्ने गर्छन् ।

काठमाण्डू उपत्यकाको भौगोलिक बनोटका कारण पनि वायु प्रदूषणका लागि जोखिम बढिरहेको र संवेदनशील अवस्थामा रहेको वातावरणविद् तुलाधर बताउँछन्।

उनले भने, ‘हिजो बादल धेरै लागेको थियो र यसले गर्दा कचौरा आकारको काठमाण्डू उपत्यकाको प्रदूषण जहाँको तहीँ रह्यो, दोस्रो भनेको काठमाण्डू उपत्यकाको वरिपरिका वनहरूमा डढेलोको कुराहरू पनि आइरहेका छन् र तेस्रो कारण भनेको जाडोका कारण मानिसहरूले आगो ताप्ने, फोहोर बाल्ने गरेका छन् त्यसले पनि हिजो र आज नै वायु प्रदुषणको अवस्था खराब देखाएको हो।’

काठमाण्डू उपत्यकाको बनोटकै कारण वायु प्रदूषणको प्रतिकूल अवस्था दोहोरिरहने भन्दै यसको न्यूनीकरणका लागि सरकारी संयन्त्रले काम गर्नुपर्ने तुलाधर बताउँछन्।

शनिवार सूदुरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुका कारण देशका विभिन्न भाग धुम्म रहेको र बिहीवारसम्ममा मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर काठमाण्डू उपत्यकामा भने बुधवारदेखि मौसममा सुधार आउने र देशभरि बिहीवारदेखि मात्रै मौसम सफा हुने मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

यो वर्ष कोरोनाभाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने चिकित्सकहरू बताउँछन्।

भेरी अस्पतालमा कार्यरत डा। राजन पाण्डेले जाडोमा न्यानोका लागि बन्द कोठामा कोइला बाल्ने, हीटर चलाउने जस्ता काम रोक्नुपर्ने सुझाव दिएका छन्।

उनले भने, ‘बरु बाक्लो लुगा लगाएर, तातो पानी पिएर आफूलाई न्यानो राख्नुपर्छ। दमका बिरामीहरू पनि अत्यावश्यक काम परेमात्रै बाहिर जाने नत्र घरभित्रै बस्ने गर्नुपर्छ।’

जाडोयाममा देखिने अन्य रोगहरू र कोरोनाभाइरसका लक्षणहरू सामान्यतया उस्तै हुने भएकाले शङ्का लाग्ने बितिक्कै परीक्षण गर्न पनि उनले सुझाएका छन्।

वातावरणविद् भूषण तुलाधर भने खासगरी अहिलेको प्रदूषणका बेला ट्राफिक धेरै हुने क्षेत्रमा बिहान बेलुका नहिँड्न, मास्क लगाएर मात्रै घरबाहिर निस्कन र न्यानोका लागि आगो नबाल्न सुझाउँछन्।

‘हिँड्नै परे पनि दिउँसो २/३ बजेको समयमा ठिक हुन्छ। बिहान र बेलुकाको समयमा हामीले हिँड्दा स्वास्थ्यमा बढी असर गर्छ।’

२०७७ पुस २१ गते मंगलवार १५:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु