"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

गुणस्तरीय वस्तु उपभोगका लागि सचेत गराउन उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन

नवलपरासी । उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार पहिलो चरणमा समुदायस्तरमा उपभोक्ता क्लब गठन गरी सचेतना कक्षा सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख नेत्रप्रसाद भुसालले राससलाई जानकारी दिनुभयो । “उपभोक्तालाई सचेत बनाउन हामीले पहिलो चरणमा समुदायमा क्लब गठन गरेर कक्षा सञ्चालन गरिरहेका छौँ, दोस्रो चरणमा विद्यालयस्तरमा सचेतना कक्षा सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो ।

मन्त्रालयले प्रत्येक जिल्लामा एक स्थानीय तहमा कम्तीमा एउटा उपभोक्ता क्लब हुने गरी जिल्लामा १० वटा उपभोक्ता क्लब गठन गरेर कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको छ । प्रत्येक जिल्लाका १० वटा विद्यालयमा उपभोक्ता प्रशिक्षकमार्फत उपभोक्ता जागरण कक्षा सञ्चालन गर्ने मन्त्रालयको कार्यक्रम छ ।

कार्यालय प्रमुख भुसालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये चार स्थानीय तहमा क्लब गठन गरी सचेतना कक्षा सञ्चालन भइसकेका छन् भने बाँकी तीन स्थानीय तहमा कक्षा सञ्चालनको तयारी छ । सुनवल नगरपालिका, पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकामा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रमुख भुसालले बताउनुभयो ।

अब रामग्राम र बर्दघाट नगरपालिका तथा सरावल गाउँपालिकामा कक्षा सञ्चालन हुनेछ । वस्तु तथा सेवाको उपभोग गर्दा उपभोग्य मिति, मूल्य, कारोवारस्थलमा सूचनापाटी मूल्यसूची भए÷नभएको हेर्ने,उत्पादकको नाम ठेगाना, वस्तुको तौल, उत्पादन मिति हेरेर मात्र बस्तु खरीद गर्ने, बस्तु खरीद गर्दा बिल अनिवार्य माग्ने, अखाद्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको बिक्री वितरण भएको पाइएमा प्रहरी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा उजूरी दिनेलगायत विषयमा प्रशिक्षण गराइएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंङ माझीले बताउनुभयो ।

धेरै उपभोक्तालाई यस्ता विषयमा ज्ञान छैन् भने ज्ञान भएका उपभोक्ताले वस्तु खरीद गर्दा व्यवहारमा कार्यान्वयन नगर्ने गरेकोले उपभोक्ता शिक्षा अति आवश्यक रहेको उहाँको भनाइ छ । कमसल वा अखाद्य वस्तुको प्रयोगबाट कुनै किसिमको हानी भएमा उपभोक्ताले क्षतिपूर्तिको दाबीसहित उजूरी गर्न सक्ने प्रावधान पनि छ ।

यस कार्यक्रमबाट उपभोक्तामा जागरण आउने विश्वास गरिएको छ । आफूहरुले पाएको शिक्षालाई अब व्यवहारमै कार्यान्वयन गर्ने कक्षामा सहभागी उपभोक्ताले बताएका छन् । समुदायपछि विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । कार्यालयका अनुसार १० विद्यालयबाट एक÷एक शिक्षकलाई उपभोक्ता प्रशिक्षक अभिमुखीकरण गरी उनीहरुबाट दुई विद्यालयमा प्रति विद्यालय कम्तीमा ५० जनालाई उपभोक्ता कक्षा सञ्चालन गरिने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

२०७७ पुस १५ गते बुधवार १५:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु