"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कर्णालीबासीलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती, धारामा बरफ जमेपछि मूल धाउँदै

साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।

कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित बनेका छन् । जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ८।५ डिग्री सेल्सियसमा झरेको छ । जाडो बढे पनि साविकको कर्णालीका कुनै जिल्लामा वर्षा तथा हिमपात नभएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख आशामपुरा कार्कीले जानकारी दिनुभयो । “चिसो बढ्ने क्रम जारी छ”, प्रमुख कार्कीले भन्नुभयो, “हिमपात भने भएको छैन । यद्यपि, यहाँका नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।” कठ्याङ्ग्रिने जाडो नघट्दासम्म हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीले जनाउनुभयो ।

जाडो बढ्दै जाँदा खानेपानीका धारामा बरफ जमेर पानी आउन छाडेको छ । मोटरसाइकल गाडीमा पेट्रोल डिजेल जम्दा सञ्चालमा ल्याउन सकस भएको छ । यसले गर्दा यातायात व्यवसायीलाई पनि सेवा प्रवाह गर्न गाह्रो भएको यातायात व्यवसायी ज्वारीलाल भट्टराईले बताउनुभयो । शौचालयका धारा बन्द भएपछि नागरिकलाई शौच गर्नसमेत कठिनाइ भएको छ ।

त्यतिमात्र होइन, घरमा राखिएका ग्यास सिलिण्डर पनि जम्न थालेको चन्दननाथ नगरपालिका–६ जुम्लाका स्थानीय पदमलाल महतले जानकारी दिनुभयो । “गाउँका स्थानीयवासी दाउरा बाल्ने भएकाले केही सहज भए पनि हामी बजारमा बस्नेलाई अहिले निकै गाह्रो भइरहेको छ”, महतले भन्नुभयो, “जमेको धारामा तातोपानी खन्यायो भने बरफ पग्लिएर पानी आउँथ्यो तर दाउरा छाडेर बाल्दै आएका सिलिण्डर ग्याससमेत जमेपछि झन् ठूलो सङ्कट निम्तिएको छ ।”

धारामा बरफ जम्दा घरमा न पानी छ न त आगो बाल्ने दाउरा छ । सिलिण्डर ग्यासको विकल्पमा दाउरा खोज्नुपर्ने त्यहाँ बाध्यता आइलागेको छ । धारा र पाइपमा बरफ जमेपछि स्थानीयवासी पानी जोहोका लागि प्राकृतिक मूल खोजी गर्न थालेका छन् । “जमेको पानी पग्लाउन आगो बालेर पानी तताउनुहुन्थ्यो तर धाराबाटै पानी खस्न छाडेपछि के तताउने रु स्थानीय सविना शाहीले भन्नुभयो, “तताउनका लागि दाउरा छैन । सिलिण्डरको ग्यास पनि फ्रिज भएको छ ।”

मूलमा पानी नजम्ने भएकाले त्यस्ता स्रोत नजिक भएका गाउँहरुलाई सजिलो भएको शाहीले जनाउनुभयो । उहाँले भन्नुभयो, “घरमा पानी नआउँदा मूल नजिकै बनाइएका परम्परागत काठ तथा ढु्ङ्गेधारा धाउनुपरेको छ । मेलापात, धारा, पानी पँधेरामा महिला सहभागी हुने भएकाले यसको बढी सङ्कट पनि महिलाले नै भोग्दै आएका छन् ।”

चिसोले विपन्न, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र सुत्केरी बढी प्रभावित भएका छन् । यो समयमा दम, निमोनिया, रुघाखोकी, कोल्ड डाइरियाका रोगी अस्पतालमा बढी आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा अर्जुनप्रसाद तिवारीले जानकारी दिनुभयो ।

“यतिबेला ज्येष्ठ नागरिक, दीर्घरोगी र बच्चा अस्पतालमा बढी आउने गरेका छन्”, डा तिवारीले भन्नुभयो, “चिसोले ‘अपरेसन थियटर’मा बेहोस बनाएर उठाउँदा अलि कठिनाइको महसुस हुन्छ ।” उहाँले यो समयमा सबैले आफूलाई न्यानोमा राख्न, झोलिलो चिज खान र ज्येष्ठ नागरिक र बालबालिकालाई बरफमा लड्नबाट जोगाउन सल्लाह दिनुभएको छ ।

एकातिर चिसो, अर्कोतिर लोडसेडिङ

यतिबेला जुम्लामा एकातिर चरम जाडो छ त अर्कोतिर लोडसेडिङ भइरहेको छ । चिसो मौसमलाई न्यानो बनाउन विद्युत्को सहारा लिने अवस्था छैन । विद्युतीय हिटर प्रयोग गर्ने अवस्था छैन, बरु नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको कारण देखाउँदै हिटरलगायतका बढी विद्युत् तान्ने सामग्री प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।

प्राधिकरण जुम्लाका कार्यालय प्रमुख गौरव पाण्डेका अनुसार २२० किलोवाट क्षमताको विद्युत् घटेर ११० किलोवाटमा झरेपछि लोडसेडिङको समस्या बढेको हो । कार्यालय प्रमुख पाण्डेले हाल करिब छ घण्टा जति मात्र विद्युत् आपूर्ति हुने गरेको बताउनुभयो । उपभोक्ता नेत्र शाहीले भने २४ घण्टामा २१ घण्टा जति लोडसेडिङ हुँदै आएको गुनासो पोख्नुभयो ।

२०७७ पुस १४ गते मंगलवार १८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु