"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

खाद्य वस्तुको म्याद न व्यापारीले हेर्छन् न उपभोक्ताले, करिब आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट

बैतडी । एक महिनामा बैतडीमा करीब आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले एक महिनामा विभिन्न बजारमा अनुगमन गर्दा सात लाख ७० हजारभन्दा बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो ।

असोज पहिलोदेखि अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका बाहेकका सबै स्थानीय तहमा पहिलो चरणमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा चाउचाउ, बियर, पीठो, नम्किनलगायत वस्तु म्याद गुज्रेका पाइएका उहाँले बताउनुभयो । उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेका लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन्, न उपभोक्ताले नै । यसले गर्दा बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेका छन् ।”

बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ । चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन् ।

निरन्तर अनुगमन भएमा बजारमा हुने कालोबजारीमा केही कमी आउने निङ्गलाशैनी मावि देहीमाडौँका शिक्षक तिलक बोहराले बताए। उनले भने, “पसलबाट किन्ने सामग्रीको म्याद भए/नभएको बारेमा उपभोक्ताहरु पनि सचेत हुनु जरुरी रहेको छ ।

२०७७ कात्तिक ७ गते शुक्रवार १४:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु