"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

उपत्यकाका प्रशासनमा अत्यावश्यकबाहेकका सेवा १५ दिनकालागि स्थगित

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा स्थगन गर्ने भएका छन् । बन्दाबन्दीपछि असार १ गतेदेखि उपत्यकाका तीन वटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेकामा सङ्क्रमणको जोखिम बढेको भन्दै साउन २५ गतेदेखि सेवा स्थगन गर्ने निर्णय गरेका हुन् ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित बसेको आजको संयुक्त बैठकले आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गर्ने निर्णय गरेको हो । सरकारी निर्णयअनुसार असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र मास्क लगाउने व्यवस्था मिलाउँदै सेवा सञ्चालन गरिरहे पनि मानिसको भीडभाड बढेकाले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको जनाइएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ ।

अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । अनावश्यक भीडभाड नगरी दुई मिटरको भौतिक दूरी राखेर सेवा लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य मापदण्ड नअपनाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको छ । ऐनमा एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

२०७७ साउन २३ गते शुक्रवार १९:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु