"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.

३० केजीको चामलको बोरामा तौल २५ केजी मात्रै, तोकिएको मापदण्डमा नहुँदा उपभोक्ता मर्कामा

जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बारेकोट गाउँपालिकास्थित नायकवाडा डिपोमा तोकिएको मापदण्डमा खाद्यान्न नहुँदा उपभोक्ता मर्कामा परेका छन् । वर्षेनी खाद्यान्न अभाव हुने बारेकोटमा वर्षमा दुई हजार ५०० क्विन्टल चामलको कोटा कम्पनीले निर्धारण गरेको छ । घोडा, खच्चडमा ढुवानी गरेर लिएको खाद्यान्नमा तोकिएअनुसारको तौल नभेटिएपछि सेवाग्रहीले विरोध गरेका छन् । सदरमुकामस्थित गोदामबाट ३० केजी तौल भएको अरुवा मध्यम खालको चामल घाट डिपोमा लिएर सर्वसाधारणलाई बिक्री गर्दा २५ केजी तौल भएको पत्ता लागेको हो ।

वर्षेनी यहाँ लिने खाद्यान्नमा तौल नपुग्नेदेखि बाटोमै चामल बिक्री हुनेसम्मका घटना हुँदै आएका छन् । घाटस्थित व्यापार कम्पनीका प्रमुख जयकृष्ण चौधरीले चामलको तौल ३० केजीबाट झरेर २५ केजी भएपछि एक हप्ताअघि गाउँपालिकालाई जानकारी गराएको बताए । उनले भने, “मैले चामलको तौलमा गडबडी देखिएपछि गाउँपालिकालाई खबर गरेको थिएँ । त्यसपछि गाउँपालिकाबाट अध्यक्षसहितका टोली अनुगमनमा आएका थिए ।” “तौल कम भएको चामललाई छुट्टै राखेर बिक्री गर्नुहोस् । यसको छानबिन गरौँला भनेर जानुभएको छ”, चौधरीले भने। अन्य चामलको तौल पुगेको भए पनि अरुवा मध्यमखालको जापानिज चामलको तौलमा निकै गडबडी भएको छ ।

वर्षेनी चामलमा नाफा लिनका लागि बीच बाटोमा गडबड गर्ने जो भए पनि कारवाही गर्नुपर्ने बारेकोट गाउँपालिका–४ का विष्णु रावतले माग गरे । उनले भने, “बारेकोट गाउँपालिकाका उपभोक्तामाथि राजनीति गर्ने र नाफाखोरलाई कारवाही गर्न माग गर्दछु । चामलको मूल्यमा पनि कहिले गडबडी सुनिन्छ । अहिले त चामल पनि बोरामै कम छ । एक बोराबाट एक केजी चामल निकाले पनि धेरै फाइदा हुन्छ । यसमा त झन् पाँच केजीको फरक छ । यसमा सबैको मिलोमतो देखिन्छ ।”

२०७७ जेठ १ गते बिहीवार १०:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु